नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -

कवितामा सङ्क्रमण-सिद्घान्त अथवा नयाँ कविताको खोजी
नेपाली कविताको सन्दभर्दमा भन्ने हो भने केहि समय यता नेपाली साहित्यमा रूपान्तरणको प्रक्रिया आरम्भ भइसकेको छ । यो प्रक्रियालाई रूपान्तरण मात्रै नभनेर नयाँ कविता-क्रान्ति भन्दा अझ उपयुक्त होला । हाम्रा अग्रज कविहरूले रोपेको कविताको क्रान्तिबिजलाई आजको नयाँ पुस्ताले विभिन्न रूप र विधिबाट फैलाउने कार्य गर्दै आइरहेका छन् । गोपालप्रसाद रिमाल, भूपि शेरचन र वैरागी काइँलाका पाइलाहरूलाई पछ्याउँदै आजको पुस्ता साँच्चै नै कविताक्रान्तिको उत्कर्षमा पुगेका छन् । कविहरूले सयौं-हज्जारौं वर्षदेखी देख्दै आएको सपनालाई मूर्तरूप दिने तरखरमा हिजोजस्तै आज पनि धेरै कविहरू हिँडिरहेका छन् ।

परम्परा भत्काउँदै हिँडिरहेका छन्, पुरातन मान्यताहरू भत्काउँदै हिँडिरहेका छन्, निरङ्कुश सोच र विचार भत्काउँदै हिँडिरहेका छन् । समयौंदेखि मान्छेको मनमस्तिष्कमा लागेको यथास्थितिको तुँवालोलाई नयाँ धारणाहरूले चिर्दै हिँडिरहेका छन्, आजको खुला समाजमा कविता पनि झन् खुला र झन् स्वतन्त्र भइरहेको छ । कविता शासकहरूको खोपीबाट निस्केर शासितहरूको आँगनमा उमङ्ग र हौसलाको राँको बोकेर उभिएको छ । कविताले पनि तमाम राजनैतिक हक र अधिकारहरू खोजिरहेको छ । लोकतान्त्रिक गणतन्त्र मागिरहेको छ, स्वायत्त तथा संघीय राज्यहरू जिकीर गरिरहेको छ । यसकारण पनि आजको कविता अत्यन्तै चुस्त र धारिलो नेपाली कविताको सर्न्दर्भमा भन्ने हो भने केही समय यता नेपाली साहित्यमा रूपान्तरणको प्रक्रिया आरम्भ बनिरहेको छ । सामुहिक अभिरूचिको विषय बनिरहेको छ । जनताको प्रिय बनिरहेको छ । कविताले शासकहरूको अर्चना गर्न छाडेपछि यो विधा लोकप्रिय भएको हो । रिमालको आमाको सपना, भूपिको घुम्ने मेचमाथि... र बैरागी काइँलाको मातेको मान्छेको भाषण... हाम्रा अग्रज कविहरूले आगत पुस्तालाई बालिदिएको विद्रोहको राँको हो जसलाई पछिल्लो समयमा बिसे नगर्ची कवितामा श्रवण मुकारूङले बोके । यी चार कविताका प्राविधिक कुराहरू भिन्दै होला । तर यी कविताहरूका उद्देश्य समान छन् । नेपाली कविताको इतिहासमा अरू धेरै यस्ता कविताहरू छन् जसमा विद्रोह या क्रान्तिको गहनता यी कविताहरूमा भन्दा पनि ज्यादा पाइन्छ तर जनता या पाठकसितको संवादशीलताको सर्न्दर्भले कहीँ ओझेलमा छन् । यौटा युगमा यौटा कविता लेखिन्छ, हाम्रा अग्रज कविहरूले यस्सै गर्दै आइरहेका छन् । तेस्सैर अब हामीलाई अर्को त्यस्तो कविताको खाँचो छ जसले नयाँ नेपाललाई गणतान्त्रिक संघीय राज्यप्रणालीमा लैजावोस् ।

केन्द्रिकृत शासनप्रणाली भत्कावोस् । जातीय, वर्गीय र लैङ्गीक विभेद हटावोस् । तेस्तो नेतृत्वदायी कविताको आवश्यकता महशुस गरिरहेका छन् जनताले । आजका प्रतिभाशाली नयाँ पुस्ताले यो काम पनि जरूर गर्नेछ । प्रयत्नहरू भइरहेका छन् । सृजनशील अराजकताको आग्रहले सञ्चार गरेको यो चेतना आज मुलुकभित्र र बाहिर -जहाँ जहाँ नेपाली हृदय र मस्तिष्कहरू छन् व्याप्त भइसकेको छ । भिन्न रूप, भिन्न शैली र भिन्न शिल्पमा नयाँ कविताको खोजी तिव्ररुपमा रूपमा भइरहेको छ । नयाँ साहित्यको खोजी तिव्र भइरहेको छ । यसक्रममा अनेक आरोपहरू आइलाग्छन् । कविताका परम्परागत परिभाषाहरूमा हामीलाई बाँध्न खोजिन्छ । साहित्यिक नियमहरूले जड बनाउन खोजिन्छ । तर, नयाँ कविताको खोजीमा निस्केको कविले ती परम्परागत परिभाषाहरू ती यथास्थितिगत नियमहरू तोड्दै नयाँ सम्भावनाहरू नयाँ विकल्पहरू लेखिरहनुपर्छ । कवि कहलाइनुको मोहबाट मुक्त हुँदै सुझबुझपुर्णढङ्गले नेपाली सामाजिकताको विविधतामा हाम्फाल्नु पर्छ ।

नयाँ पुस्ताले कवितालाई करिया बनायो- भनुन् पुरानो पुस्ताले । लुघुताबोध नगरौं । स्वयम् भाषा नै मानवविचार र मानवसंवेदनाको करिया भएपछि कविता मात्रै होइन सिङ्गो साहित्य नै विचारको करिया हो । कवितालाई मानवविचार, मानवसंवेदना, मानवआदर्श, मानवव्यवहार, मानवसिद्घान्त, मानवआस्था आदिइत्यादि मानवीय बोध र संज्ञानहरू बोकाउनलाई नै हाम्रा पोर्खाहरूले कविता बनाए । अथवा, जीवन र जगतका गोचरणीय वस्तुव्यवस्थाप्रति हाम्रा मनमस्तिष्कमा उत्पन्न हुने एन्द्रिक प्रतिक्रियालाई अभिव्यक्तिमा रूपान्तरण गर्दा भाषा जन्म्यो, कला जन्म्यो, साहित्य जन्म्यो, कविता जन्म्यो । हाम्रो यस्तो प्रतिक्रिया कहिले सकारात्मक रूपमा आउँछ, कहिले नकारात्मक रूपमा आउँछ । अथवा कतिपय कुराहरू मान्छौं, कतिपय मान्दैनौं । मान्नु भनेको स्वीकार गर्नु, रोकिनु, स्थिर हुनु । नमान्नु भनेको अस्वीकार गर्नु, नरोकिनु, चलायमान हुनु । नमान्नु अराजकता हो, विकासप्रक्रिया हो । मान्नुपर्ने मान्दै नमान्नुपर्ने नमान्दै जानु सृजनशील अराजकता हो । आयामिक पुनराविष्करणमा इन्द्रबहादुर र्राई लेख्छन्- सम्पुर्णताको निम्ति सब राख्ने, केही नफ्याँक्ने; सम्पुर्णताको निम्ति सहायक सब राख्ने, अ-सहायक सब फ्याँक्ने । आयामिकहरूको सम्पुर्णताको निम्ति सब राख्ने, केही नफ्याँक्ने; विचारमा भ्रान्ति उब्जन्छ । राजनैतिक विषयमा उदाहरणका निम्ति सब राख्ने केही नफ्याँक्ने भने पछि अन्याय, अत्याचार, निरङ्कुशता, शोषण, दमन, विभेद सब राख्नुपर्ने भयो । कविताको सर्न्दर्भमा हामीले निरङ्कुश राजतन्त्रको प्रशस्तिमा लेखिएको कवितालाई पनि राख्नुपर्ने भयो, शासकहरूको भजनकिर्तनमा तयार भएको साहित्यलाई पनि राख्नुपर्ने भयो ।

यसो हो भने श्रीमान् गम्भीर प्रचण्ड प्रतापी...राष्ट्रगानलाई किन फ्याँक्यौं - तर फ्याँक्यौं, किनभने यो राष्ट्रगानमा सम्पुर्णता थिएन, जनता थिएन । नयाँ ल्यायौं सय थुङ्गा फूल...तर फेरि यसैमा मेचीकाली फैलिएका नेपाली -को बिम्बमा विश्वभरिका आप्रबासी नेपालीहरू फ्याँकिए । मेचीकालीभित्रका नेपालीहरू मात्रै समाहित भए । तेसोर आयामिकहरूको यो सम्पुर्णता अलि सम्पुर्ण भएन । यस्तो समस्याले हिजोका महान् दार्शनिकहरूको पनि बाटो छेकेको थियो । भरसक सम्पुर्णतातिर जाँदैछौं हामी । भरसक सम्पुर्णता अथवा मानवहितेयः सब राख्ने अथवा विषयवस्तु सापेक्षतः सब राख्ने । भरसक सकारात्मकता केहीलाई नछुटाउने । तर, हामीलाई पनि एकदिन मानवचेतनाको विकासक्रमले बुढो बनाउँछ, परम्परागत बनाउँछ । नयाँ सधैँ नयाँ रहँदैन । नयाँ कविता तेसकारण सधैँ पुरानो हुने जोखिममा हुन्छ । ब्रहाण्डले ओगटेको यसबेलाको काल र क्षेत्र पनि प्रतेक क्षण परिवर्तन भइरहेको मान्छन् स्टेफन हकिङस् । बिग बेङ्गको सिङ्गुलारिटी अनुसार यस युग प्रसरणमा छ । अथवा, ब्रम्हाण्ड फैलिदैछ । यौटा बिन्दुमा पुगेपछि यो फेरि खुम्चिनु -बिग क्रन्च) शुरू हुन्छ । तेतिबेला काल र क्षेत्रले विपरिततिर यात्रा गर्छ । अथवा, आजको ब्रम्हाण्डमा मान्छे बालकबाट बुढो हुन्छ भने त्यो बेलाको ब्रम्हाण्डमा मान्छे बुढोबाट बालक हुन्छ । यो नयाँ वैज्ञानिकहरूको अनुमान हो । यस्तो बेला सत्यहरू असत्य हुन्छन्, असत्यहरू सत्य हुन्छन् । यस्तो परम वैपरित्यको युग -अरबौं हजार बर्षछि आएको खण्डमा हामीले अमर भनेका हाम्रा कविताहरू कुन कुनामा थुप्रिन्छन् अनुमान पनि गर्न सकिदैन । हाम्रा कविताहरू आजको बिग बेङ्ग सिङ्गुलारिटीको युगमा छ । हामी प्रसरणमा छौं, हामी कतै गइरहेका छौं । रिमालबाट भूपि र बैरागी, भूपि र बैरागीबाट विक्रम सुब्बा, कृष्णभूषण वल, श्रवण मुकारूङ...आदिआदि हुँदैजानु भनेको त्यै प्रसरणको प्रभाव हो, त्यै काल र क्षेत्रको फैलावटको फल हो । यसकारण यो युगमा नयाँ कविताको खोजी सास्वत् सत्य छ । त्यो भनेको चेतनाको विस्तारण हो ।

मान्छेको भूत र भविष्य तेसकारण म्याट्रिक्स-सत्यतिरको छ । वर्तमान सधैँ सङ्क्रमण-सत्यतिर रहन्छ । वर्तमान तेही भएर नोष्टाल्जिक र भविष्यमुखी हुन्छ । हामीलाई यो सङ्क्रमण पार गर्नुछ । हामीलाई यो वर्तमान अथवा सङ्क्रमण-सत्यको कविता लेख्नुछ । सङ्क्रमण-सत्यको कविता भनेको नयाँ कविताको खोजी हो । भरसक नयाँ कविता हो । त्यो तर सम्पुर्णता हो । भरसक सम्पुर्णता । भरसक वर्तमान पक्रनु हो । क्षण पक्रनु हो । क्षण र्स्पर्श गर्नु हो । क्षण महशुस गर्नु हो । हामी वर्तमानमा बाँचिरहेका मान्छेहरू सब सङ्क्रमणमा छौं । सङ्क्रमणबाट मुक्त हुने प्रयत्न गर्दा हामी रङ्ग देख्छौं, भयक्रान्त हुन्छौं, अभिघात भन्छौं । विलयन गर्र्छौं । चक्र भन्छौं । उत्तरवर्ती भन्छौं, पुर्ववर्ती भन्छौं । आयाम भन्छौं, लीला भन्छौं, अराजकता भन्छौं । जे देखे पनि, जे भए पनि, जे गरे पनि, जे भने पनि वर्तमानको यो सङ्क्रमण-सत्यबाट मुक्त हुनु सकिदैन तथापि हामी प्रयत्य गर्र्छौं । यही जीवन हो । प्रयत्न जीवन हो । सम्प्राप्ति जीवन होइन । सङ्क्रमणबाट मुक्त हुनलाई गरिएका प्रयत्नहरू हुन् आमाको सपना, घुम्ने मेचमाथिको....मान्छे, मातेको मान्छेको भाषण.., बिसे नगर्चीको बयान । हिजो थाहा नपाइकन सङ्क्रमित वर्तमानबाट मुक्त हुन कविता लेख्यौं । अब थाहा पाइकनै कविता सङ्क्रमण-सत्यमा आधारित बनेर लेखिरहनुपर्छ । नयाँ कविताको खोजी नैरर्न्तर्यताको अनुष्ठान हो, प्रयत्नमा लागौं । सङ्क्रमण-सिद्घान्तमा सहभागी बनौं ।

हाङयुग अज्ञात

Updated by administrator on 03 September 08 at 19:24:24


किरायाको पहिलो ऐतिहासिक कार्यक्रम सम्पन्न
किरात राई यायोक्खा युकेले गत २ अगष्ट सनिवार फान्ब्रो स्थित वेभल क्याम्पस हाताभित्र एक बृहत र सफल ऐतिहासिक कार्यक्रम सम्पन्न गरयो । हुनत किराया युकेले यस अघि धेरै पटक थुप्रै कार्यक्रमहरु सम्पन्न गरिसकेको छ तर यस पटक छुट्टै र नयाँ अनि रचनात्मक कार्यक्रहरु समेटेर कार्यक्रम आयोजना गर्न सफल किराया युकेले अब आउने दिनहरुमा छुट्टै र नयाँ किसिमले आफु र आफ्नो समाजलाई अघि बढाउने शुभ संकेत दिदै कार्यक्रम सम्पन्न गरेको छ।

बेटुङे मौसमको घरि पानी पर्ने र घरि घाम लाग्ने गजवको वातावरणका विच स्वयंसेवकहरुले बिबिक्यु र खानाको तयारी पुरा गरे पछि बफेट सिस्टममा उपस्थित सम्पूर्णले दिवा भोज लिएका थिए। युकेका विभिन्न ठाँउहरुबाट उत्साहित राईहरुको उल्लेख्य उपस्थिती रहेको भेटघाट तथा बिबिक्यु पार्टीमा नेपाली दुतावास तथा अन्य संघ संस्था र स्थानिय प्रशासनका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि वेलायतका लागि नेपाली राजदुत महामहिम श्री मुरारीराज शर्मा, रोसमोर बोरो काउन्सिलका उप-मेएर रोजर किम्वर, काउन्टि काउन्सिलर् इरिक नियल, विएफबिएस गोर्खा रेडियो युकेका महा-प्रवन्धक खेम गुरुङ, तमु प्ले हुँका अध्यक्ष जगत पेहाचु तमु, किरात याक्थुम चुम्लुङका महा-सचिव बिजय बिक्रम लिम्बु लगाएत अन्य बिशिष्ठ अतिथिहरु उपस्थित हुनु भएको थियो। दिवाभोज पछाडी सुरु भएको औपचरिक कार्यक्रमहरुमा संस्थाको निम्ती उल्लेख्य योगदानपुर्‍याउनुहुने सदस्यहरुलाई कदर स्वरुप बिशिष्ठ सदस्यताको प्रमाण पत्र र बिशेष पदक दारा सम्मान गरिएको थियो । प्रमुख अतिथीको बाहुलीबाट प्रदान गरिएको विशिष्ठ सदस्यता प्राप्त गर्नुहुनेहरुमा क्याप्टेन श्री भुपजित राई क्याप्टेन श्री प्रभुराम राई क्याप्टेन श्री टिका राई, श्री नरोदिम राई, श्री शिवराम राई, श्री विरेन्द्र राई, श्री शहरमान राई, र श्री बमकर्ण राई रहनु भएको थियो ।

साहित्य संगीत शिक्षा र कला तर्फ उल्लेख्य योगदान र विभिन्न पुरस्कार तथा उपलब्धि हासिल गरि किरात राई समाजमा उत्कृष्ठता हासिल गर्न सफल साहित्यकारहरु, समाज सेवी गायक गीतकार नृत्यकार र विधार्थीहरुलाई कदर पत्र प्रदान गरि अझ लगनसिल र मेहनतका साथ आ-आफ्नो क्षेत्रमा अघिबड्न प्रेरणा दिने हेतुले सम्मान तथा प्रशंशा र कदर पत्र प्रदान गरिएको थियो । जस अन्तर्गत साहित्य तर्फ श्री रक्ष राई, श्री दयाकृष्ण राई, श्री मुलीबीर राई, श्री नरेश राई∙ , श्री जगत नवोदित राईलाई सम्मान पत्र प्रदान गरिएको थियो। कला तर्फ गायनमा श्री भगवान चाम्लिङ र भुमिराज राई नृत्य तर्फ सुश्री सुजाता राई र सुश्री संयुक्ता राई, संचार तर्फ श्री योगराज राई, खेलकुद तर्फ मास्टर राष्ट्र राई लाई सम्मान गरिएको थियो। त्यसरि नै शैक्षिक क्षेत्रका डा. सुस्मा राई, डा. कोपिला राई, श्रीमती सरिता राई, श्री विजय राई, श्री प्रविन राई र श्री कुल राई लाई प्रसंशा पत्र प्रदान गरिएको थियो । संस्थाको निम्ती धेरै लामो समय देखि निरन्तर सहयोग र हरेक कार्यक्रमहरुमा लगनसिल भई खट्नुहुने सदस्यहरुलाई पनि कार्यक्रममा धन्यवाद र कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रममा महामहिम श्री मुरारीराज शर्मा, उपाध्यक्ष श्री ओम राई, काउन्सिलर् रोजर किम्वर लगायतले बोल्नु भएको थियो । बिभिन्न रोचक सांस्कृतिक कार्यक्रमहरुलाई गीतकार विश्वकाजी राई, श्रीमती सरिता राई र जगत नवोदितले संयुक्त रुपमा प्रस्तुत गर्नु भएको थियो भने औपचारीक कार्यक्रम संस्थाका महा-सचिव पदम बहादुर राई र सचिव मकर ध्वज राईले संचालन गर्नु भएको थियो । उपाध्यक्ष श्री रामधन राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको समापन गर्दै उपाध्यक्ष राईले उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन तथा सबैलाई सामाजिक चेतना जगाउन आह्वान गर्नु भएको थियो। कार्यक्रम साँझको सात बजे समाप्त भएको थियो।

Updated by administrator on 04 August 08 at 11:41:57


नयाँ विश्व सुन्दरी
भेनेजुयलाले पाँचौ पटक विश्व सुन्दरी प्रतियोगितामा विजय हासिल गर्न सफल भएपछि त्यहाँका जनताले विजयोत्सव मनाइरहेका छन् । आइतबार राती भियतनाममा भैरहेको विश्व सुन्दरी मिस युनिभर्स प्रतियोगिता टेलिभिजनबाट प्रत्यक्ष हेरिरहेका भनेजुयलाका जनताले त्यस प्रतियोगितामा भाग लिइरहेकी २२ वर्षीया मिस भेनेजुयला डायना मेण्डोजालाई आयोजकहरुले ताज पहिराएपछि भेनेजुयलाका जनता हर्षित भएका थिए ।

लामो समयदेखि मिस भेनेजुयलाको आयोजना गर्दै आउनु भएका मिस भेनेजुयला आयोजक समितिका अध्यक्ष ओस्मेल सोउसाले भनेजुयलाले पाँचौ पटक मिस युनिभर्सको ताज जितेकोमा भेनेजुयलावासी गौरवान्वित भएको बताउनुभयो । ‘आफू विजयी भइन्छ भन्ने. कुरामा उनी ढुक्क छिन् र आयोजना स्थलमा दर्शकको भीड देखेर उनी कत्ति पनि आत्तिएकी छैन ।’ - सोउसाले भन्नुभयो । भेनेजुयला मिस युनिभर्स मेन्डोजाले मिस कोलम्वियालाई पराजीत गरी मिस युनिभर्सको ताज जित्न सफल भएकी थिइन् ।

Updated by administrator on 27 July 08 at 21:34:58


गोपाल भुटानीलाई प्रभातको सहयोग
प्रवासी नेपाली साहित्य समाज (प्रभात) अन्तर्गत "प्रभात" प्रोडक्सनको पहिलो प्रस्तुती तथा मुलिबीर राईको निर्देशन रहेको चलचित्र वास्तविकतामा अभिनय गर्नुभएका वरिष्ठ द्वन्द्व निर्देशक एवं कलाकार गोपाल भुटानीलाई प्रवासी साहित्य समाज (प्रभात) र वास्तविकता चलचित्र परिवारले साउन ३ गते राजधानीमा एक कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग प्रदान गरेको छ।

सहयोग समितीका एक संयोजक जितेन्द्र चेम्जोङ निकै लामो समय देखि विमारी अवस्थामा रहनु भएका भुटानीलाई सहयोग प्रदान गर्न नेपाल आउनु भएको थियो। (प्रभात)द्वारा आयोजित सो आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका हस्तीहरु यादव खरेल, युवराज लामा, भुवन के सी, वसुन्धरा भूषाल, राजकुमार राई, लक्ष्मीनाथ शर्मा, देशभक्त खनाल, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिया लगाएतको उपस्थितिमा कलाकार भूटानीलाई ८३,१००. को राशी हस्तान्तरण गरिएको थियो।

बरिश्ठ कलाकार गोपाल भुटानीको निम्ती सहयोग संकलनार्थ चार सदस्यहरुलाई सहयोग अभियान संयोजकको अबिभारा दिईएको थियो।संयोजकहरु,कलाकार तथा निर्माता भुमिराज राई ,निर्देशक मिलन चाम्स,कलाकार तथा निर्माता वाइ बि लावती र जितेन्द्र चेम्जोङ रहनु भएको थियो।सहयोग संकलनको निम्ती युकेका बिभिन्न ठाउँहरुमा वास्तविकता प्रदर्शन गरिएको थियो,अन्य सहयोग रकम कलाकार,निर्माता निर्देशक र समाज भित्रका सदस्य र पदाधिकारीहरुले प्रदान गर्नु भएको थियो।

प्रवासी नेपाली साहित्य समाज (प्रभात) २०५८ सालमा स्थापना भएको थियो। प्रभातले हरेक बर्ष सिर्जना क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याउनुहुने श्रष्ठा,सर्जक र समाज सेवीहरुलाई प्रभात सम्मान र साहित्यक्षेत्रका एक जनालाई प्रभात पुरस्कार प्रदान गर्दै आई रहेको छ।

भूटानीद्वारा अभिनित चलचित्र "वास्तविकता"मा कथा,गीत्,र निर्देशन मुलिबिर राई,सह-निर्देशक/द्दन्द निर्देशक तथा क्यामरा म्यान मिलन चाम्स,सुरज श्रेष्ठको सम्पादन,संगीत पारश मुकारुङ र गीत ईश्वर चाम्लिङ को रहेको छ।अन्य कलाकारहरु भूमिराज राई, रुपा पुन,सलिना राई,जय राई,दिल सिगु,पबी,याम लावती लगाएतको अभिनय रहेको छ।

Updated by administrator on 20 July 08 at 22:22:32


कानूनि आधार प्रष्ट्याउन बेलायती सरकारलाई निर्देशन
१ साउन, काठमाण्डौ। बेलायती उच्च अदालत 'रोयल कोर्ट अफ जस्टिस' ले पूर्व गोरखा सैनिकलाई भेदभाव गर्नुपर्ने कानुनी आधार २८ दिनभित्र पेश गर्न बेलायत सरकारलाई निर्देशन दिएको छ ।

एउटै सेवामा रहेका गोरखा सैनिकहरूमध्ये सन् १९९७ अघि सेवाबाट अवकास पाएकालाई एक किसिमको र सन् १९९७ पछि अवकास पाएकालाई अर्को किसिमको ब्यबहार बेलायतले गरेको आरोप लगाउदै भिक्टोरिया क्रस विजेता तुलबहादुर पुन, फोकल्याण्ड युद्धका घाइते ज्ञानेन्द्र राईसहित छ जना पूर्व गोरखा सैनिकले बेलायतको उच्च अदालतमा दायर गरेको मुद्दामा अदालतले मङ्गलबार सो आदेश जारी गरेको हो ।

अदालतका न्यायाधीश जेरेमी सुलिभानको एकल इजलासले सो आदेश दिएको हो । अदालतले बि्रगेड अफ् गोर्खाज्का प्रमुख कर्णेल हेज, बेलायती गृह मन्त्रालयका अधिकारी तथा बेलायत सरकारका वकिलहरूलाई अदालतमा झकिाई गोरखा सैनिकमाथि 'किन त्यस्तो भेदभावकारी कानुन बनाइयो' भनी लिखित बयान लिइएको निदेवक राईले बताउनुभयो ।

गोरखा भूतपूर्व सैनिक संघ -गेसो) को पहलमा भिसी पुन र घाइते राई लगायतका ६ जना पूर्व गोरखा सैनिकहरूको नामबाट गत शुक्रबार -जुलाई ११ तारिख) बेलायती उच्च अदालतमा सो मुद्दा दर्ता गराइएको थियो । अदालतले आगामी सेप्टेम्बर १६ र १७ तारिखलाई सो मुद्दाको बहसको मिति तोकेको छ ।

सेप्टेम्बरको अन्त्यसम्ममा सो मुद्दाको अन्तिम फैसला आइसक्ने गेसो सभापति पदमबहादुर गुरुङले जानकारी दिनुभयो । "बि्रगेड अफ् गोर्खाजका प्रमुख, गृह मन्त्रालय तथा सरकारी वकिलले समेत पूर्व गोरखा सैनिकमाथि भेदभाव गर्नुको कुनै कानुनी आधार पेश गर्न नसक्नुले बि्रगेड अफ् गोर्खाजका हाकिमको तजबिजीमा गोरखा सैनिकहरूलाई सञ्चालन गर्ने गरेको प्रष्ट भएको छ" गुरुङले भन्नुभयो ।

पहिलो र दोस्रो विश्वयुद्धमा गरी एक लाखभन्दा बढी गोरखाहरू मारिएका थिए भने लाखौ घाइते, अंगभंग भएका थिए । त्यस्तो जोखिमपूर्ण सेवामा काम गर्ने गोरखाका बारेमा बेलायती संसदले अहिलेसम्म पनि कानुन नबनाएको निवेदकको भनाइ छ ।

बेलायती सैन्य सेवामा रहेका कमनवेल्थ तथा अन्य मुलुकका नागरिकहरूले चार वर्ष सेवा गर्नासाथ बेलायतको आवासीय भिसा, सैन्य सेवामा रहेका बेलायती नागरिकसरह तलव र पेन्सन पाउने गरे पनि सोही सेवामा रहेका नेपाली नागरिक गोरखा सैनिकहरूलाई भने बेलायतले आवासीय भिसा, पेन्सन, तलव सबैमा भेदभावपूर्ण व्यवहार गर्दै आएको निवेदकहरूको आरोप छ ।

सो मुद्दाका कारण यही जुलाई २१ देखि २४ तारिखसम्म हुने भनिएको आवासीय भिसासम्बन्धी मुद्दाको सुनुवाई भने पछि सर्ने भएको छ । न्यायाधीश सुलिभानले नया मुद्दाको टुङ्गो लगाएपछि मात्र आवासीय भिसाको सनुवाई गर्न निर्देशन दिनुभएको छ ।

Updated by administrator on 16 July 08 at 19:18:54


1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 More...


© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by www.gurkhaenterprises.com  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]