'माग्ने बुढा'को घर

सन्तोष रिमाल, नेपाल टेलिभिजनको हास्य टेलिसिरियल 'मेरी बास्सै'का 'माग्नेबुढा' देख्दा तपाईंमा दया पलाउँछ होला। सुकुम्बासी जीवन, पारिवारिक तनाव र समाजको अपहेलनाका बीच तपाईंलाई हँसाउने यी कलाकारको वास्तविक जीवन भने सिरियलमा देखेजस्तो दयनीय छैन।
'घर एक सपना'को नारा बोक्ने राजधानीमा केदार घिमिरे यस्ता कलाकार हुन्, जसले 'माग्ने बुढा'को भूमिका खेलेरै घर ठड्याएका छन्। ललितपुरको इमाडोलमा छ, उनको तीन तले घर।
घरको लोकेसन माग्दा उनले भनेका थिए, 'राता मकै (किरण केसी)को घर त देख्नुभा होला नि। हो, उहाँको घरसँगैको सडकबाट आउनुस्। बाटोमा जसलाई सोधे पनि देखाइदिन्छन्।' नभन्दै उनको घर पत्ता लगाउन समस्या परेन। छतमा बसेर हात हल्लाइरहेका केदारलाई टाढैबाट चिनियो। उनको घर देख्दा लाग्यो, कलाकारले के कमाउँछ र? भन्नेको भीडमा उनी अपवाद हुन्।
'मेरी बास्सै'मै देखिने उनकी पत्नीले माथिल्लो तलामा पुर्याउँदा केदार स्क्रिप्ट लेख्दै थिए। 'तीन तलामाथि बसेर झुपडीको कथा?' जवाफ तुरुन्तै आयो, 'यहाँ बसेको त कति भयो र। जीवनको लामो समय त झुपडीमै बिताछु नि।'

पन्ध्र वर्ष डेरामा बसेपछि उनी आफ्नै घरमा सरेको साढे दुई वर्ष भयो। 'यो घर मैले किन्दा यस्तो थिएन। एक तले घर, त्यो पनि आधी पैसा बैंकले पत्याएपछि आफ्नै घरमा बस्ने सपना साकार भयो।' दुई वर्ष यता उनको सिरियलको रेटिङमात्र बढेन। घरको तला पनि थपियो।
'धेरै पैसा कमाएर घर बनाको पनि हैन,' उनले घर निर्माणको कथा सुनाउने थाले, 'अरू कलाकारजस्तो फेसनेबल छैन म। कमाएको धन सबै खर्च गर्न हुन्न बचाउनु पनि पर्छ भन्ने बानीले काम गर्यो।' जति बैंक खुल्छन् सबैमा केदारका खाता। 'अरुका सिरियल खेलुन्जेल त पैसा घरमा आइपुग्नै भ्याउँदैनथ्यो। आफैंले बनाउन थालेपछि केही जोगियो,' त्यसपछि यिनले देख्न थालेछन् घर बनाउने सपना।
केदारलाई उनका ज्योतिष हजुरबाले उहिल्यै भनेका रहेछन्, 'तँ कलाकार बन्छस्। र, पैसा पनि राम्रै कमाउने योग छ।' त्यतिबेला काठमा बुटा भर्नेलाई कलाकार भन्छन् भनेर बुझेका केदारलाई आफ्नो भविष्य सुनेर अल्छी लाग्यो। क्याम्पस पढ्न काठमाडौं आएपछि बल्ल उनले बुझे कलाकारिताको रस। त्यसमा पनि हास्यकलामा उनी तानिए। छिट्टै टेलिफिल्ममा अभिनय गर्न पाएपछि उनलाई लाग्यो हजुरबाको भविष्यवाणी पुग्यो।

'कलाकार भएपछि एउटा कुरा चाहिँ सजिलो भयो,' उनले सुनाए, 'डेरा पाउन साह्रै गाह्रो पर्थ्यो पहिला। कतिले त पाहुना धेरै ल्यायो भनेर घरबाटै निकाले। मान्छेले चिन्न थालेपछि सजिलै डेरा पाइयो। घरभेटीले पनि आफ्नै परिवारजस्तो गर्न थाले।' आफ्नो भाँडो नभरी पानी थाप्न नदिने र कौसीमा लुगा सुकाउन जाँदा आँखा पल्टाउने घरभेटीबाट कलाकार भएपछि छुटकारा पाए। 'संक्रान्तिको दिन पैसा बुझाउन नसक्दा पनि लुकीलुकी हिँड्नु परेन,' अर्को फाइदा थियो यो।

केदारका छोराले एकदिन सोधे, 'मेरो साथीको घर हाम्रो चाहिँ डेरा रे हो बाबा?' छोराको प्रश्न सुनेपछि बाबुले अठोट गरे, 'सानै भए पनि घर किन्नुपर्यो।' त्यसपछि उनी पुगे ज्यातिषकै शरणमा। 'कुन ठाउँमा घर किन्न ठिक होला?' यही ठाउँमा भनेर त ज्योतिषले पनि बताउन सकेनन्। तर, राशी अनुसार 'इ'बाट नाम आउने ठाउँ फाप्ने सुनाए। केदार 'इ'बाट आउने ठाउँको नाम सम्भि्कन थाले। 'ईन्द्रचोकमा त किन्न सकिनँ। अनि लागेँ इमाडोल तिर,' उनले भने, 'अब त जसले बसाइँ सर भने पनि मान्दिन। छरछिमेकीसँग यस्तो सम्बन्ध बनिसक्यो कि घर बेच्न लागेको थाहा पाए भने कुट्न आउँछन्।'
घरको तला थपेपछि केदार घरभेटीसमेत भएका छन्। 'पन्ध्र वर्ष डेरामा बसेको अनुभवले कस्तो घरभेटी बनायो?' 'म डेरामा बस्दाको जस्तो टाट छैनन् मेरो घरमा बस्ने। मभन्दा धनी छन्। भाडा उठाउन जानै पर्दैन। छत, बरन्डा जता जान पनि छुट छ। सुविधा पनि बराबर।'

मकवानपुरको ठिंगन गाउँका केदारको राजधानीमा घर ठड्याउने सपना त पूरा भयो। तर, आफ्नो 'सपनाको घर' भने अर्कै छ भन्छन्। 'हुन त घर सबैको सहमतिमा बनाउने कुरा हो। तर मैले अर्कैखाले घरको सपना देखेको छु', उनी सपनाको घरको वर्णन गर्न थाले, 'बाहिरबाट हेर्दा आधुनिक भए पनि भित्र गाउँको जस्तो होस्। अँगेना, चुल्हो, चिम्टा, ढुङ्ग्रो, ठेकी, मदानी आदि भएको भान्छा। पिर्कामा बसेर भात खाने व्यवस्था। हुन त काठमाडौं यस्तो घर झन् महँगो हुन्छ। तर, सपना देख्न पैसा लाग्दैन। म त सधैं यस्तै घरमा पुग्छु।'
