नेपालको समय -
  - Home
  - News
  - Headlines
  - Music
  - Audio
  - Forums
  - Models
  - Contact Us
  - Type in Nepali.
  - Freewarejava
  - Cool Text
  - Google.com
  - Login/Register -

मृतकका परिवारलाई एक लाख ७५ हजार क्षतिपूर्ति
त्रिशुलीमा छायाँकन भईरहेको चलचित्र 'कोही त छ' का स्पटब्बाइ सरोज कुमालको त्रिशूली जलविद्युत् केन्द्रको नहरमा डुबेर मृत्यु भएपछि चलचित्रका निर्माताले मृतकका परिवारलाई क्षतिपूर्ती स्वरूप एक लाख ७५ हजार तिरेका छन् ।

गत शनिबार साँझ शुटिङ प्याकअप भएपछी एकजना स्थानीय साथीसँग नहरमा पौडी खेल्न गएका सरोज नहर पार गरेर र्फकने क्रममा डुबेर बेपत्ता भएका थिए । शुटिङमा स्पटब्बाइको काम गरिरहेका त्रिशुलीकै बासिन्दा सरोज नहरमा डुबेर बेपत्ता भएपछि स्थानीयवासीले शुटिङ युनिटलाई उनको खोजी गर्न दबाब दिएपछी राती अबेर सम्म सरोजको खोजी गरिएको चलचित्रका निर्देशक रामजी लामिछानेले बताए । रात भर खोज्दा पनि नभेटिए पछि बिहान सबेरै नहरको पानी सुकाएर उनको खोजी गर्दा बिहान नौ बजेतिर मात्र सरोज मृत अवस्थामा फेला परेको निर्देशक लामिछानेले बताए ।

सरोजको लास भेटिएपछि स्थानीयवासी तथा सरोजका परिवारले चलचित्र युनिटसमक्ष ६ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरे पनि निर्माताले एक लाख ७५ हजार मात्र क्षतिपूर्ती तिरे । क्षतिपूर्तीमा कुरा नमिले पछि चलचित्रका निर्माता तथा निर्देशक आइतबार दिनभरि जिल्ला प्रहरी कार्यालय परिसरमा बसेका थिए । लामो समयको बार्ता पछि मृतकका परिवारले क्षतिपूर्ती स्वरूप एक लाख ७५ हजार लिन तयार भएका थिए ।

Updated by Shanta on 25 May 10 at 05:39:41


यस्तो छ बिहेको तयारी
मनीषाको बिहेको मिति तय भयो । आगामी जुन १८ अर्थात् असार ४ गते काठमाडौंको गोकर्णमा सम्राट् दाहाल र मनीषाबीच बिहे गर्ने निधो भयो । केही साताअघि हाम्रा पारिवारिक पण्डित रामचन्द्र घिमिरेले साइत हेरेर बिहेको मिति तय गरेका हुन् ।

आफ्नो बिहेको मिति तय भइसके पनि मनीषा कोइराला नेपालमा छैन । अहिले मद्रासमा हिन्दी फिल्म सुटिङमा व्यस्त छे । बिहे हुन अब एक महिना मात्र बाँकी छ । हामी तयारीमा व्यस्त छौँ । आफन्तमाझ र घरमा छुट्टै किसिमको रमाइलो छ । किनभने, नेपाली संस्कृतिमा विवाह एक तामझामपूर्ण घटना हो । पहिले, सबै आ-आफ्नै धुनमा मस्त हुन्थ्यौँ । अहिले भने हामी बेला-बेलामा जम्मा भइरहेका छौँ र गफगाफ चलिरहेको छ । सबैजना चाहन्छन्, 'मनीषा नेपालमै भइदिए हुन्थ्यो ।'

मलाई पनि चौबीसै घन्टा मनीषा मेरो अघि भइदिए हुन्थ्योजस्तो लाग्छ । बाबुको मन न हो ! मनीषाकी आमा पनि त्यही चाहन्छे । तर, उसको आफ्नो करियरको कुरा हो । यता मात्रै बसेर करियर बन्दैन । त्यसैले आफ्नो बिहेको मिति नजिकिँदै जाँदा पनि मनीषा नेपालमा छैन । यसबाट मनीषा आफ्नो पेसाप्रति कति समर्पित र बफादार छे, त्यो पुष्टि हुन्छ ।

मान्छेको करियरमा एउटा सुरुवात हुँदोरहेछ । र, पिक पनि । उसो त जीवन भनेकै उकाली र ओराली हो । १० वर्षअघि नै मनीषाले भनेकी थिई, 'म अब कमर्सियल फिल्ममा साइन गर्दिनँ ।' फरक धारका सिनेमामा उसको रुचि थियो । दिल से, खामोसीजस्ता फिल्ममा उसले आफूलाई अत्यन्त सफलतापूर्वक प्रस्तुत गरेकी छे । फिल्म करियरको सुरुदेखि नै उसको गुनासो थियो, 'मलाई कमर्सियल फिल्ममा अभिनय गर्न मन छैन ।'

तर, करियर भन्ने कुरो उमेरसँग पनि सम्बन्धित हुँदोरहेछ । अझ, विशेषगरी एक्टिङ करियरमा ! उमेर र बिहेले पनि करियरलाई केही असर गर्छ । मैले बुझेअनुसार, बिहेपछि उसको करियरमा ठूलो उतार-चढाव आउनेछ । किनभने विश्वका धेरै अभिनेता तथा अभिनेत्रीका जीवनमा बिहेपछि यस्तो भएको छ । बिहेपछि उसले आफ्नो फिल्म करियरभन्दा पनि परिवारतर्फ जिम्मेवार हुनुपर्नेछ । उसका दायित्व थपिनेछन् । परिवार भनेकै दायित्वहरूको फेहरिस्त हो । अहिलेजस्तो फ्रि भएर हिँड्न पाउँदिन ।

हुन त उसले भनेकी थिई, 'राम्रा फिल्म बन्ने भए म यहीँ बसेर काम गर्छु ।' मलाई लाग्छ, बिहेपछि उसले नेपालमै राम्रा फिल्म पाई भने यतै काम गर्छे होली । मलाई उसले मुम्बईको फिल्म करियर छाड्नुहुँदैन जस्तो लाग्छ किनभने मुम्बईले उसको प्रतिभालाई फल्ने र फुल्ने अवसर दिएको बिर्सन मिल्दैन । तर, भविष्यका यी सबै कुरा कल्पना मात्रै हुन् । समय नै हो, बलबान् । समयले जता लैजान्छ, त्यतै बग्ने हो, मनीषा ।

उसले बिहे गर्ने निर्णय गरेदेखि म साह्रै खुसी छु । हाम्रोजस्तो समाजमा अविवाहित छोरी बाबुको सबभन्दा ठूलो जिम्मेवारीको विषय हुन जान्छ । केही समयअघि चिनजान भएका सम्राट् दाहालसँग वैवाहिक बन्धनमा बाँधिने उसको निर्णयले हाम्रो परिवारका सबैलाई हषिर्त बनाएको छ ।

केही समयअघि मनीषाले मलाई सुनाई, 'अब म बिहे गर्छु, सम्राट्सँग ।' उनीहरूको त्यो निर्णयले मलाई सबैभन्दा सन्तुष्ट बनायो । सम्राट्जी आफ्नो व्यवसायको करियरमा निकै माथि पुगिसक्नुभएको छ । उहाँहरूको आफ्नैखाले व्यापारिक घराना छ । उहाँ साह्रै भलाद्मी र बौद्धिक हुनुहुन्छ । मनीषाले एउटा अन्तर्वार्तामा भनेकी छिन्, 'म सम्राट्विना आफ्नो जिन्दगी सोच्न पनि सक्दिनँ, सम्राट् मेरो सबैथोक हो ।' मेरो र मनीषाकी आमाको एउटै चाहना थियो, 'मनीषाले नेपाली केटोसँग बिहे गरोस् ।' हाम्रो सपना उसले अब पूरा गर्दै छे ।

मलाई सपिङमा रुचि छैन । तर, उसको बिहेको मिति तय भइसकेपछि घरमा सपिङ चलिरहेको छ । आफन्तका साथमा मनीषाकी आमा सपिङमा व्यस्त छे । मलाई लाग्छ, मनीषाले उतै मुम्बईबाट फर्केर आउँदा केही सपिङ गर्छे । केही दिनको फुर्सद मिलाएर यतै (नेपाल)मा पनि सपिङ गर्छे होली । सपिङमा केही पनि रुचि नभएकाले म यसबाट बेखबरजस्तै छु । तर, उनीहरूले गर्ने सपिङप्रति मेरो कुनै विमति छैन ।

बिहेमा पाहुुना को-को बोलाउने मनीषा आफैँ निर्णय गर्छे । यताका आफन्त त आइहाल्छन् । भारतबाट पनि उसका केही साथी आउनेछन् । यो उसको जीवनकै महत्त्वपूर्ण क्षण हो । भारतबाट उसका शुभचिन्तक आइहाल्नेछन् । केही दिनअघि मलाई फोनमा भनेकी थिई, 'बिहेमा गोविन्दा, जैकी स्राफ, विनोद चोपडा र गोविन्दाकी श्रीमती आउनेछन् ।'

मलाई सबैले सोध्छन्, 'मनीषाको बिहे गर्न किन ढिला भएको ?' मसँग यसको ठोस जवाफ छैन । मनीषाको बिहे गर्न केही ढिलो भएको हो । उसलाई मैले धेरैपटक 'अब बिहे गर्ने बेला भयो, गर्' भनेको हुँ । उसलाई बारम्बर आग्रह गरेको हुँ- 'यु सुड गेट मेरिड' । ऊ सधैँ, 'पख्नूस् न, मेरो करियर बन्दै छ' भन्थी । बिहे गर्न कहिल्यै मानिन । म भन्थेँ, 'जीवनमा फिल्मबाहेक अरू पनि हुन्छ । जीवनका धेरै अध्याय हुन्छन् । युवा र फिल्मी जीवनको अध्यायबाट तिमी धेरै माथि आइसक्यौ । अब पारिवारिक जीवनको अध्याय सुरु गर ।' त्यसबेला ऊ भन्थी, 'मलाई मन लागेपछि म बिहे गर्छु भनिहाल्छु नि !' घरमा मनीषाको बिहेको कुरा पटक-पटक आउँथ्यो, तर बिहेका सम्बन्धमा ऊ कहिल्यै गम्भीर भइन । तर, अहिले ऊ आफैँले निर्णय गरेकी हो, बिहे गर्ने ।

अहिले ऊ आफ्नो हुन लागेको विवाह र सम्राट्जीबारे धेरै गम्भीर छे । उसको बिहे नेपाली मिडियालाई ठूलो 'मसला' भएको छ । हामीले मनीषाको बिहेको मिति नतोक्दै मिडियाले मिति तोकेको थियो । सबैतिर हल्ला फैलिएको छ । मनीषाले बिहे गर्ने कुरा के नौलो भयो र ? सबैले जीवनमा एकपटक विवाह गर्नैपर्छ । मनीषाले भनेकी छे, 'धेरै तामझाम नगर्ने, घरपरिवारका केही मित्रलाई बोलाउने र सादा तरिकाले बिहे गर्ने ।'

उसले जीवनमा अझै लामो बाटो हिँड्नुपर्छ । लाग्छ, बिहेपछि उसको आफ्नैखाले करियरको सुरुवात हुनेछ । नितान्त नौलो अनुभव हुनेछ, उसको जिन्दगीमा । सिनेजगत् एउटा चुम्बकजस्तो रहेछ । जहाँ एकपटक टाँस्सिएपछि त्यसले हत्तपत नछाड्दोरहेछ । भारतका चर्चित एक्टर देवानन्दलाई केही समयअघि भेटेको थिएँ । त्यसबेला उनले भनेका थिए, मेरो आफ्नो रिटायर्ड लाइफ नै भएन ।' मलाई लाग्छ, मनीषाको पनि त्यही हाल हो । बिहे भए पनि उसको आफ्नो निजी जीवन हुँदैन । ऊ फिल्ममा यसरी फसिसकेकी छे कि यसबाट उम्कन उसलाई निकै गाह्रो हुनेछ । बिहेपछि पनि उसले फिल्मलाई छाड्दिन भन्ने लाग्छ ।

धेरैले सोध्न थालिसके, 'बिहेमा कति खर्च गर्ने हो ?' यति भन्ने यकिन छैन । खर्चको योजना बिस्तारै बन्दै छ । यति-उति भन्ने छैन । हामी उच्च-मध्यमवर्गीय हौँ । त्यही हिसाबले आफूले सक्नेजति मात्रै खर्च गर्नुपर्छ भन्ने सोच छ, मेरो । मनीषाले पनि त्यही भनेकी छे । हामी दाइजोविरोधी परिवार हौँ । दाइजो दिने/लिने चलन हाम्रो परिवारमा कहिल्यै थिएन । मनीषाको बिहे सामान्य किसिमले गरिदिने सोचेको छु, मैले ।

मिडियाले पनि अति नै गर्छ । मनीषाको बिहेमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागी हुने हल्ला मिडियाले केही समयअघि चलाएको थियो । तर, हामीलाई केही पनि थाहा छैन । बरु मनीषाका केही विदेशी साथी आउलान् । उसका साथीहरू बिहेमा सहभागी हुनु स्वाभाविकै हो ।

बिहेपछि मनीषाले अभिनय छाड्ली भन्ने पीर परेको हुन सक्छ, उसका फ्यानहरूलाई । तर, बिहेपछि पनि उसको फिल्मी जीवन आफ्नै ढंगले अघि बढ्नेछ । मान्छे वास्तवमा सधैँ स्क्यान्डल रुचाउने प्राणी हो । मनीषा पनि धेरै स्क्यान्डलमा फसेकी छे । आफ्नो करियर अगाडि बढाउन सायद केही स्क्यान्डल जरुरी पनि थिए होलान् । बलिउड र हलिउडका धेरै कलाकारलाई स्क्यान्डलले एउटा उचाइमा पुग्न सघाएको उदाहरण धेरै छन् । यहीँ नेपालमा पशुपतिनाथमा समेत स्क्यान्डल भयो । म त भन्छु- फिल्मकर्मीहरूको त जीवनको हिस्सा नै हो स्क्यान्डल । उसको बिहेबारे पनि यति हल्ला मच्चियो कि, थाम्नै गाह्रो भयो ।

मलाई पहिले बिपीको छोरा भन्थे । पछि मनीषाका बाबु भन्न थाले । मनीषा मसँग नेपालमा हुँदा हामी एक-अर्काका कुरा खुब सेयर गर्छौं । के-कस्तो किताब पढ्ने हो त्यसबारे पनि छलफल गर्छौं । बिहेपछि मनीषा फिल्म र आफ्नो घरसँग बाँडिनेछे । तर, म विश्वस्त छु- मनीषा बिहेपूर्व मेरी मायालु छोरी थिई र बिहेपछि पनि उत्तिकै मायालु छोरी रहनेछे ।

Updated by Shanta on 25 May 10 at 05:29:42


अमेरिकी नागरिक जोर्डन रोमेरोद्धारा सबैभन्दा कम उमेरमा सगरमाथाको चुचुरोमा पुगेर विश्व कीर्तिमान कायम
अमेरिकी नागरिक जोर्डन रोमेरोले सबैभन्दा कम उमेरमा सगरमाथाको चुचुरोमा पुगेर विश्व कीर्तिमान कायम गरेका छन्। विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको चुचुरोमा पुग्ने अमेरिकी किशोर रोमेरोको उमेर तेह्र वर्ष मात्र छ। क्यालिफोर्नियाको विग वियर निवासी रोमेरोले तिब्बती क्षेत्रबाट सगरमाथाको आरोहण गरेका थिए।

शनिबार सगरमाथाको चुचुरोमा पुगेपछि उनले सेटेलाईट फोनमार्फत क्यालिफोर्नियामा रहेकी आफ्नी आमासँग कुराकानी गरेका थिए। रोमेरोले यसअघि दश वर्षको उमेरमा अफ्रिकाको सबैभन्दा अग्लो किलिम्जारो पहाडको शिखर सफलतापूर्वक आरोहण गरेका थिए। आठ हजार आठ सय अठ्चालिस मिटर अग्लो सगरमाथाको शिखरमा यस अघि सबैभन्दा कम उमेरमा आरोहण गर्ने कीर्तिमान नेपालका तेम्बा छिरी शेर्पाले बनाएका थिए। उनले सोह्र वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेका थिए।

Updated by Shanta on 24 May 10 at 02:56:39


मेघालयमा पुरिएर ९ नेपालीको मृत्यु
भारतको मेघालयमा खासी समुदायको आक्रमणबाट बच्न कोइलाखानीमा लुकेर बसेका ९ नेपाली मजदुरको आइतबार पुरिएर मृत्यु भएको छ । आसामबाट पत्रकार रोहित गौतमले दिएको जानकारीअनुसार मृत्यु हुने सबै नेपालबाट कोइलाखानीमा काम गर्न गएका मजदुर हुन् ।

प्रहरीले खानीबाट ८ जनाको शव बाहिर निकालेको छ । मृत्यु हुनेमा एक ३ दिनका नवजात शिशुसमेत रहेको प्रहरीलाई उधृत गर्दै गौतमले जानकारी दिएका छन् । प्रहरीले प्रवासी नेपालीको पहलमा नेपालीको शव बाहिर निकालेको हो । यसअघि खासीहरुको आक्रमणमा परी ५ नेपालीभाषीको ज्यान गइसकेको छ । आक्रमणको डरले १५ हजारभन्दा बढी नेपालीहरु विस्थापित भएका छन् । कतिपय नेपाली मजदुहरु आक्रमणको त्रासले लुकेर बसेका छन्

Updated by Shanta on 24 May 10 at 02:16:02


पुरुषका अघि राम्री देखिन चाहन्छु - नायिका मानन्धर
म मानिसलाई पैसाले आकषिर्त गर्छ, प्राकृतिक वस्तुले आकषिर्त गर्छ, ठूलो पद र प्रतिष्ठाले आकषिर्त गर्छ । यौनले आकषिर्त गर्छ । यद्यपि मलाई पैसाले कहिल्यै आकषिर्त गरेन । कलाकारिताबाहेक कुनै पदले पनि आकषिर्त गरेन । म घुम्न मन पराउँछु, तर त्यसले सधैं आकषिर्त गरेन । त्यसो भए मलाई के कुराले आकषिर्त गर्छ.... लामो समय गुनेपछि मैले बुझें थाहा पाएँ, मलाई पुरुषको व्यक्तित्व एवं व्यवहारले आकषिर्त गर्छ ।

म पुरुषका लागि सौन्दर्य प्रसाधन प्रयोग गर्छु । म पुरुषका अघि राम्री देखिन चाहन्छु । मलाई सम्झना हुन्छ- जब मेरो नजिक कुनै पुरुष पत्रकारले अन्तरवार्ता लिइरहेको हुन्छ, म आफ्नो सौन्दर्यप्रति सचेत हुन्छु । म त्यही कुरा बोल्छु, जुन कुरा पुरुषहरू मन पराउँछन् । फोटोपत्रकारले मेरो तस्बिर लिइरहँदा मलाई लाग्छ, म सम्पूर्ण पुरुषमा आफ्नो सौन्दर्य छरिरहेको छु । म पुरुषसँग रहँदा करिश्मा भएको बोध गरिरहेकी हुन्छु । पुरुषबिना करिश्मा मानन्धरको कुनै अर्थ छैन, उसको सौन्दर्यको पनि कुनै मूल्य छैन । करिश्माले जीवनमा जे-जस्तो सफलता हासिल गरेकी छे, त्यो सफलताका पछि पुरुषको आँखा, पुरुषको मन एवं पुरुषको सम्मान नै हो ।

सर्वप्रथम मैले पुरुषलाई परैबाट चिनंे । मलाई पुरुष भन्नेबित्तिकै आफूलाई स्कुलमा पढाउने शिक्षक हो भन्ने लाग्थ्यो । चलचित्रमा सानो उमेरमा प्रवेश गरें, त्यसैले पुरुष भन्नेबित्तिकै केश फुलेको निर्देशक हो भन्ने लाग्थ्यो । सानैदेखि बुबाको मायाबाट वञ्चित भएका कारण मलाई पुरुष प्रेमी कम अभिभावक बढी हो भन्ने लाग्थ्यो । त्यसैले मलाई चकलेटी, आकर्षक वा बडी बिल्डर पुरुषले आकषिर्त गर्दैनन् । पुरुष मेरा लागि हाम्रो समाजले अंगीकार गरेजस्तै कम बोल्ने तर महत्त्वपूर्ण कुरा बोल्ने हुनुपर्छ । उसमा पीताको जस्तो अभिभावकत्व एवं गुरुको जस्तो ज्ञान हुनुपर्छ । मेरो आदर्श पुरुष त्यही हो, जो बाहिर हेर्दा साधारण, भित्र असाधारण व्यक्तित्वको धनी होस् ।

पहिलो भेटमा कुन पुरुष कति आकर्षक रूपमा मेरा अघि देखा पर्‍यो, त्यो मेरा लागि महत्त्वपूर्ण हुँदैन । बरु समय बित्दै जाँदा उसले मलाई कति बढी प्रभावित बनाउँदै लग्यो, त्यो मेरा लागि महत्त्वपूर्ण हुन्छ । त्यस्ता पुरुषलाई मात्र मैले आदर्श मानें, जसले मलाई भित्रैदेखि प्रभावित तुल्याउन सके । एकपटक मैले जुन पुरुषलाई सम्मान दिएँ, त्यसलाई सधैं मनमा राखें ।

२०४३ सालतिर हुनुपर्छ, म भर्खरै नायिका भएकी थिएँ । नायिका भएपछि जुन सम्मान प्राप्त हुन थालेको थियो, त्यसले म आफू अरूभन्दा विशेष हुँ भन्ने लाग्न थालिसकेको थियो । त्यसैबेला एक जना पुरुष बेला-बेलामा मेरो नजिक हुन्थे र दुई-चार कुरा बोल्थे । मेरो व्यवहार उनीप्रति विशेष हुँदैनथ्यो । किनभने ती पुरुष त्यसबेला चलचित्रका साधारण हास्य-कलाकारका रूपमा चिनिन्थे । समय बित्दै गयो, म पनि लोकपि्रय हुँदै गएँ । उनी पनि लोकपि्रय हुँदै गए । यति हुँदा पनि हाम्रो व्यवहार साधारण नै थियो । मेरो विवाह भयो, उनले पनि विवाह गरे

। त्यसपछि भने ती पुरुषले मलाई साह्रै आकषिर्त गर्न थाले । उनको ट्यालेन्सी यति माथि आउन थाल्यो कि उनी अचानक मेरो आदर्श हुन थालें । हुँदाहुँदा मेरो अवस्था यस्तो हुन थाल्यो कि उनका अघि बोल्दा पनि म नर्भस हुन थालें । उनीसँग मेरो खपिनसक्नुको प्रेम हुन पुग्यो । मेरो अभिभावक हुनुहुन्थ्यो, अञ्जली दिदी । उहाँलाई मेरो अवस्था थाहा भयो । उहाँले भन्नुभयो, यसरी नर्भस भएर बस्नुभन्दा यो सम्बन्धलाई विस्तार गर, उहाँका श्रीमान्-श्रीमतीलाई खाना खान बोलाऊ । यसले तिमीलाई सहज वातावरण दिन्छ । मैले उहाँहरूलाई खाना खान बोलाएँ । उहाँहरू दुवैलाई मेरो प्रेमको अन्दाज भएछ क्यार, उहाँहरूले त्यसको सम्मान गर्नुभयो । मेरो वैवाहिक जीवन सुखपूर्वक चलिरहेको छ, तर कुनै आदर्श पुरुष सम्भिmए भने म उनैलाई सम्झन्छु । हरिवंश आचार्य पुरुष सौन्दर्यका हिसाबले आकर्षक नाम होइन, तर उनी करिश्माका लागि आदर्श पुरुष हुन् ।

अभिनयका हिसाबले राजेश हमालसँग मेरो केमेस्ट्री मिल्छ । यद्यपि पर्दामा केमेस्ट्री मिल्नु र व्यवहारमा केमेस्ट्री मिल्नु फरक कुरा हुन् । मेरो जीवनमा राजेश हमाल पनि त्यसैगरी आए, जसरी हरिवंश आए । २०४६ सालपछि चलचित्र भाग्यरेखामा भेटिएका राजेश हमालमा विदेशमा पढेको फुर्ति थियो । खान्दानको चहक पनि थियो सायद । पढेलेखेको अहम पनि हुन सक्छ । मलाई उनको व्यवहार अनौठो लाग्यो । त्यसबेला धेरै लामो भेट हुन पाएन, त्यसैले उनको व्यवहार धेरै अध्ययन-अनुभव गर्न सकिएन ।

तीन-चार वर्षपछि चलचित्र 'भाउजू' मा सँगै अभिनय गर्दा भने उनलाई नजिकबाट नियाल्ने अवसर मिल्यो । प्रारम्भका दिनमा उनी विशेष थिएनन् । चलचित्रकर्म अघि बढ्दै जाँदा उनको व्यवहार, विद्वता एवं शालिनता यसरी प्रकट हुन थाल्यो कि त्यो कहिल्यै घटेन, बढ्दै गयो । आज करिब २० वर्षपछि पनि मलाई लाग्छ, जुन रहस्य म थाहा पाउन चाहन्छु, त्यो राजेश हमालभित्र कैद छ । त्यसैले उनीप्रति मेरो आकर्षण उत्तिकै छ । मलाई लाग्छ, पुरुषत्व भित्री तहमा हुन्छ, जुन एकैपटक प्रकट भयो भने त्यसको सौन्दर्य हराउँछ, यो धारावाहिक जस्तो प्रत्येक एपिसोड आकर्षणको बिन्दु बाँकी राखेर सकिनुपर्छ ।

यति हुँदाहुँदै पनि मेरो जीवनमा विनोद मान्ान्धरको स्थान व्यक्ति र पृथ्वी, श्वास र शरीरजस्तै छ । म करिश्मा मानन्धर हुँ, केसी होइन । म अमेरिकामा छु कि अरू कुनै भूगोलमा, त्यसले कुनै फरक पार्दैन । मजस्ती आधुनिक युवतीले यस्तो कुरा गर्दा कहिलेकाहीं मानिसले शंका व्यक्त गर्न सक्छन्, तर सत्य हो । विनोद पृथ्वी हो र मैले टेक्दा विनोदमाथि नै टेक्नुपर्छ । विनोद श्वास हो र मैले उसलाई नै फेर्नुपर्छ । यदि विनोदको स्थानमा अरू कुनै पुरुष भएको भए सायद हाम्रो मिलन यति लामो नहुन सक्थ्यो ।

उसले मेरो हरेक सनकलाई सहेको छ । मलाई अमेरिका बस्न मन लाग्यो कि नेपाल, मलाई बरालिएर हिड्न मन लाग्यो कि गृहिणी हुन मन लाग्यो, त्यसअनुसार वातावरण मिलाइदिने पुरुष हो- विनोद । कहिलेकाहीं मलाई लाग्छ, मेरो स्वभावका कारण विनोदमाथि अन्याय भएको छ, तर ऊ यो कुरा देखाउँदैन । बरु मेरो खुसीका लागि आफ्ना अप्ठयाराहरू बिर्सिदिन्छ । एउटी श्रीमतीका रूपमा ऊजस्तो पुरुष पाउनु मेरा लागि गर्वको कुरा हो । हरेक श्रीमती यस्तै चाहन्छन्, अरूले पाएका छन् कि छैनन्, तर मैले पाएकी छु । उसले मलाई छोरीलाई जस्तो केयर गर्छ । गुरुजस्तो जीवन दर्शन पठाउँछ । सहयोगीको जस्तो सेवा गर्छ । मेरा लागि अप्ठयाराहरू सहिदिन्छ । उसको यही बानीकै कारण म कायल छु । यति हुँदाहुँदै पनि विनोद मेरा लागि आदर्श पुरुष होइन । कल्पनाको आदर्श पुरुष त विनोद, राजेश, हरिवंशजस्ता सात पुरुष जोडेपछि मात्र तयार हुन्छ, कुनै सिनेमाको काल्पनिक हिरोजस्तो ।

मेरो व्यावसायिक जीवनमा म पुरुषहरूको माझमै रहें । फोटोग्राफर राजीव श्रेष्ठले सधैं तिमीजस्ती राम्री कोही छैन भन्ने भाव जगाइरहे । उनका अघि जस्तोसुकै ग्ल्यामर पोज दिँदा पनि मलाई फिल हुँदैन, उनी अपोजिट सेक्स हुन्, तर न त उनी बहकिन्छन्, न त म नै बहकिन्छु । बरु मभित्रको सौन्दर्यबाहिर निकाल्न उनी कहाँ के खोजीरहेका छन्, त्यसमा साथ दिनु म आफ्नो ड्युटी सम्झन्छु । चलचित्रका प्रारम्भका दिनमा मेरो हिप ठूलो देखाउन निर्देशकहरूले प्याड लगाइदिन्थे । उनीहरूको उद्देश्य पनि मेरो सौन्दर्य बाहिर आओस् भन्ने नै हुन्थ्यो । ड्रेस तथा मेकअप म्यान, निर्देशक सबैको धोको एउटै हुन्छ, कसरी करिश्मा राम्री देखिन्छे ? यी सबै पुरुष मेरो सौन्दर्य छर्न चाहन्छन्, त्यो पनि सम्मानजनक रूपमा । एउटी महिलाका लागि यो ठूलो कुरा हो ।

कतिपयले भन्छन्, पुरुषहरू हिंस्रक हुन्छन् । उनीहरू महिलामाथि हाबी हुन चाहन्छन् । उनीहरूमा मपाइँत्व यति धेरै हुन्छ कि महिलाको जस्तासुकै ट्यालेन्सी पनि दबेर जान्छ । मेरो जीवनमा त्यस्ता पुरुष कहिल्यै आएनन् । मैले पढे-सुनेअनुसार त्यस्ता पुरुष हुनचाहिँ हुन्छन् । खराब र असल समाजको नियति नै हो । नराम्रो भएकैले राम्रोको महत्व बढेको हो । त्यसैले समाजमा खराब पुरुषको बोलवाला छ भन्ने कुरा म मान्दिनँ ।

म अमेरिकामा बस्दा धेरै अमेरिकीहरू सोझै शारीरिक सम्बन्धको प्रस्ताव राख्न आउँथे । एउटी राम्री अनि एक्ली युवती देखेपछि त्यसरी प्रस्ताव राख्नु त्यहाँको चलन नै हो । म अमेरिकामा किन रमाउन सकिनँ, किन तानिएर फेरि नेपालमै आएँ, यसको एक मात्र कारण त्यहाँको संस्कृति हो । एउटा पुरुष वा नारी भोग्नका लागि हुँदै होइनन् । ती त प्रेम, आदर्श र त्यागका लागि एक-अर्कासँग जोडिएका अंग हुन् । सौन्दर्यका हिसाबले नेपालका पुरुष मध्यम छन्, तर उनीहरूमा संस्कार छ । त्यसबाहेक मलाई कर्ण शाक्यको पुस्तकमा भएको एउटा वाक्यले निकै गम्भीर बनायो । उनले लेखेका छन्, 'एउटा नेपाली विदेशमा बस्दा रुटलेस, नेमलेस र फेसलेस हुन्छ, अनि ऊ कसरी विदेशमै बस्न सक्छ ?' मलाई यस्तो गम्भीर कुरा भन्ने, लेख्ने र देखिने पुरुषहरू मन पर्छन् । यस्ता आदर्श पुरुष नेपालमा जताततै छन्

Updated by Shanta on 21 May 10 at 23:42:34


Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 207 208 209 210 211 212 213 214 215 216 217 218 219 220 221 222 223 224 225 226 227 228 229 230 231 232 233 234 235 236 237 238 239 240 241 242 243 244 245 246 247 248 249 250 251 252 253 254 255 256 257 258 259 260 261 262 263 264 265 266 267 268 269 270 271 272 273 274 275 276 277 278 279 280 281 282 283 284 285 286 287 288 289 290 291 292 293 294 295 296 297 298 299 300 301 302 303 304 305 306 307 308 309 310 311 312 313 314 315 316 317 318 319 320 321 322 323 324 325 326 327 328 329 330 331 332 333 334 335 336 337 338 339 340 341 342 343 344 345 346 347 348 349 350 351 352 353 354 355 356 357 358 359 360 361 362 363 364 365 366 367 368 369 370 371 372 373 374 375 376 377 378 379 380 381 382 383 384 385 386 387 388 389 390 391 392 393 394 395 396 397 398 More...


© Copyright 2007 Ajambari.com All Rights Reserved. The articles, photos, songs, videos etc may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by Sameer.  [ Best Viewed at 1024x768 Resolution and Above - Internet Explorer 7.0 or newer.]